बुहारीको खोजी

ALK
By -
0
बुहारीको खोजी👇
""""«"""""""""«""""""

धेरै वर्षअघि एउटा गाउँमा एकजना अत्यन्त मिहिनेती, दयालु र बुद्धिमान् मानिस बस्थे । उनको नाम मणिलाल थियो। मणिलाल आफ्नो खेतमा अङ्गुरको खेती गर्दथे । उनको एकजना राजु नामको छोरो थियो । राजु एक वर्षको हुँदा उसकी आमा खसिन् । त्यसैले मणिलालले उसलाई आमाबाबुकै माया दिएर हुर्काएका थिए । राजु पनि सुशील, मिहिनेती र बुद्धिमान् थियो । मणिलालका लागि राजु भविष्यको आशा थियो ।

समय बित्दै गयो । राजु पनि एक्काईस पुगेर बाईस लाग्यो । अब मणिलाललाई छोराको बिहे गरेर एउटी सुन्दर दुलही भित्र्याउने रहर लाग्न थाल्यो । उनले मनमनै, सोचे, "यति सुन्दर छोराका लागि ऊ जस्तै सुशील, मिहिनेती र सुन्दरी दुलही कहाँ खोज्ने होला ?" यस विषयले मणिलाललाई चिन्तित तुल्यायो । उनलाई खाना पनि रुच्न छाड्यो ।

एकदिन बेलुकाको खाना खाइसकेर उनी धेरै बेर घोरिइरहे । त्यसपछि उनी मुसुक्क हाँस्दै उठेर छोरातिर फर्केर भने, "राजु । भोलि बिहान सबेरै बाहिर जानु छ । तिमीले बिहानै उठेर कामदारहरूलाई पाँच डोकाजति अङ्गुर टिप्न लगाउनू । चारपाँचजना भरिया पनि ठीक पार्नू । हेरौं खोजेजस्तो भेटिएला कि !"

राजुले केही पनि बुझेन । बूढा हाँस्दै अर्को कोठामा पसे ।

भोलिपल्ट बिहान अङ्गुर तयार भयो। अङ्गुर भरियालाई बोकाएर मणिलाल घोडामा चढेर अगि लागे । उनी सरासर टाढाको गाउँमा पुगे र कराउन थाले, " गाउँलेहरू हो ! ल आउनुहोस् । तपाईंहरूले आफ्नो घर बडारेको फोहोर मलाई दिनुहोस् र त्यत्ति नै अङ्गुर लानुहोस् ।"

गाउँलेहरूले उनको कुरा पत्याएनन् । उनीहरू झ्यालढोका बन्द गर्न लागे । उनीहरूले सोचे, "यो मान्छे कि त पागल हुनुपर्छ कि त हाम्रो गाउँको हालखबर बुझ्न आएको जासुस हुनुपर्छ ।"

गाउँलेहरू नआएपछि उनले फेरि चिच्याएर भने, "पत्याउनुभएन कि क्या हो ? यो चानचुने अङ्गुर होइन । फेरि यस्तो मौका आउँदैन नि ।" बूढा डोकाबाट पाकेका अङ्गुरका झुप्पा झिकेर कपाकप खान थाले ।

धन देखेपछि महादेवको तीन नेत्र खुल्छन् भनेझै अङ्गुर खान पाइने लोभमा गाउँकी एउटी आइमाईले तुरुन्तै एक डबका फोहोर ल्याएर बूढालाई दिई । बूढाले पनि एक डबका अङ्गुर उघाएर दिए । हेर्दाहेर्दै फोहोर लिएर आउनेहरूको भिड लाग्यो । त्यहाँ गाउँका केटाकेटी, युवायुवती र वृद्धहरू एकएक गर्दै देखा पर्न थाले। मणिलाल पनि फोहोर लिंदै अङ्गुर दिँदै गर्न थाले । उनी केही पत्ता लगाउन खोजेझै गम्भीर देखिन्थे भने घरिघरि मुस्कुराउँथे पनि । उनले दिनभरि अङ्गुर बाँडे र बेलुका जम्मा भएको फोहोर तिनै भरियालाई बोकाएर घर फर्किए । यो देखेर राजु छक्क पर्यो ।

"कहाँ जानुभएको थियो ? खोजेको चीज भेटियो त ?"

"भेटिएन । भोलि फेरि जानुपर्ला। भोलि पनि पाँच डोका अङ्गुर ठीक पार्नू ।"

बिहान अङ्गुर ठीक भयो। उनी आज अर्कै गाउँमा गए। आज पनि उनले खोजेको चीज पाइएन । उनी हिजोजस्तै निराश भएर घर 
फर्के ।

बुद्धिमान् मान्छेले मात्र सफलता पाउन सक्छ भन्ने सोची मणिलालले एकपल्ट पुगेका गाउँमा फेरि नजाने निर्णय गरे । उनी पहिलेझै अङ्गुर लिएर जान्थे तर सधैं नयाँ गाउँमा पुग्थे । उनले अङ्गुर बाँडेको देखेर धेरैले धेरै थरी कुरा गरे। कसैले उनलाई मूर्ख र पागल भने । कसैले गरिबलाई दान गर्ने धर्मात्मा महापुरुष ठाने । कसैले चाहिँ सरकारले गाउँ सफा गर्न पठाएको कर्मचारी हो रे भन्नेसम्म लख काटे ।

सातौं दिनमा उनी एउटा नयाँ गाउँमा पुगे। उनी फोहोरसँग अङ्गुर साट्‌दै थिए, त्यहाँ एउटी सोह्रसत्र वर्षकी सुन्दरी युवती हातमा अलिकति फोहोर बोकेर आइन् । उनले मणिलालतिर फर्केर भनिन्, "बुबा । मलाई पनि अलिकति अङ्गुर दिनुहोस् न । मसँग त यति मात्र फोहोर छ !"

बूढाले यसो हेरे । साह्रै थोरै फोहोर । "हुन्न नानी। यति थोरै फोहोरमा अङ्गुगुर आउँदैन । जाऊ घर सफा गरेर धेरै फोहोर लिएर आऊ ।" बूढा अरूलाई अङ्गुर दिन थाले ।

एकछिनपछि ती युवतीले मणिलाललाई अनुरोध गर्दै भनिन्, " दिनुहोस् न बुबा ! हाम्रो घरमा फोहोर नै छैन । हामी दिनैपिच्छे बडाछौँ । आजको फोहोर पनि फालिसकें। यो पनि पल्लाघरे काकीकहाँबाट मागेर ल्याएको । भाइले अङ्गुर खान साह्रै मन गरेकाले मात्र काकीसँग फोहोरको धुलो मागेर अङ्गुर साट्न आएकी !

बुबा शब्द सुन्दैमा झस्केका मणिलालको अनुहारमा सन्तुष्टिको रेखा दौडियो । उनले युवतीलाई धेरै बेर नियाले र भने, "स्याबास नानी ! यस्तै मिहिनेती र धैर्यशील भएमा मानव हुनुको गरिमा बढ्छ । अल्छी र फोहोरी भएमा कसैले मन पराउँदैन । तिमीलाई पनि कहिल्यै दुःख नहोस् । मेरो आशीर्वाद छ ।" युवती आफ्नो प्रशंसाका कुरा सुनेर केही लजाए जस्तो गरिन् ।

मणिलालले युवतीसँग उनको घरपरिवारका बारेमा धेरै प्रश्न सोधे । उनको अनुहारमा खुसी बढ्दै गयो । युवतीले त्यहीँबाट औंल्याएर उनको घर पनि देखाइन् । मणिलालले खुसी भएर भने, "लेऊ नानी त्यो फोहोर । यो सबै अङ्गुर तिम्रो भयो । मैले तिमीलाई इनाम दिएँ । बरु बदलामा मलाई पनि तिम्रो घरसम्म पुऱ्याइदेऊ । म पनि 
जान्छु । "

युवतीसँगै मणिलाल उनको घरमा पुगे । मणिलालले युवतीका बुबासँग धेरै कुरा गरे र उनको विवाह आफ्नो छोरासँग गरिदिने विचार गरे। युवतीका बाबुले एकपल्ट छोरालाई नै पठाइदिन अनुरोध गरे ।

बेलुका मणिलाल घर पुगे । उनको अनुहारमा हिजोको जस्तो निराशा थिएन ।

"आज भेटियो त बुबा ?" राजुले पुरानै प्रश्न दोहोऱ्यायो ।

"भेटियो । भनेभन्दा राम्रो भेटियो। अब भोलि म मात्र होइन, तिमी पनि जानुपर्छ। अङ्गुर चाहिँ चाहिँदैन ।"

"कहाँ जान नि?"

"बुहारी हेर्न !"

राजु लजाएर अर्को कोठामा पस्यो । बूढा मक्ख परे ।

#trending #post #story


Post a Comment

0Comments

Feel free to leave your comment below or get in touch with me on WhatsApp/Viber number: +9779844128670

Post a Comment (0)

#buttons=(Ok, Go it!) #days=(20)

Our website uses cookies to enhance your experience. Learn more
Ok, Go it!