खरानीको डोरी

ALK
By -
0
खरानीको डोरी


एकादेशको दुर्गम गाउँमा बाबुछोरा मात्र भएको एउटा परिवार थियो। बाबुको नाम आड्दावा र छोराको नाम आङ्फुर्वा थियो। उनीहरू गरिब थिए। उनीहरूसँग सम्पत्तिको नाउँमा एउटा सानो घरवाहेक अरू केही थिएन । बाबुछोरा दुवै ज्यालामजदुरी गरेर जीवन चलाउँथे । त्यस देशमा धेरै पहिलेदेखि अशक्त बाबुआमालाई बुढेसकालमा जिउँदै ज‌ङ्गलमा लगी अलपत्र रूपमा छौड्ने परम्परा रहेछ । यसलाई सरकारले पनि कानुनी मान्यता दिएको रहेछ । जङ्गलमा छोडिएका बूढाबूढी कतै हिँडडुल पनि गर्न नसक्ने र केही दिन बाँचेर भोकभोकै मर्ने गर्दा रहेछन् ।

आड्दावा कालान्तरमा बूढो भयो र काम गर्न नसक्ने अवस्थामा पुग्यो । त्यहाँको चलनअनुसार आङ्फुर्वा बूढो बाबुलाई पिठिउँमा बोकेर जङ्गलतर्फ लाग्यो । लामो यात्रा पार गरेर बीच जङ्गलमा आङ्फुर्वाले बूढो बाबुलाई बिसायो । त्यहाँ पानीको सानो खोपिल्टो पनि थियो । उसले साथमा घरवाट ल्याएको सामलतुमल बूढो बाबुलाई दियो र घामपानीबाट जोगिन स्याउलाको ओतको पनि व्यवस्था मिलायो । अब आङ्फुर्वाले बाबुसँग बिदा लिएर घर फर्किने विचार गर्यो ।

"बस्नुहोस् है बुबा, म अब घर फर्कन्छु । यहाँको चलन यस्तै हो ।" यसो भन्दा आङ्फुर्वाको आँखामा गहभरि आँसु थियो । आड्दावा केही बोल्न सकेन । उसले पनि आँसु ओभाइसकेका आँखा मिच्यो । बाबुछोरा दुवैलाई छुट्टिन मुस्किल परेको थियो । आफुर्वातिर हेरेर आड्दावाले भन्यो, "जा त जा, फेरि घर पुग्न रात पर्ला। बाटो बिराउलास् कि भनेर बाटोमा बुट्यानका मुनाहरू भाँचेर मिल्काएको छु । त्यसलाई ख्याल गरेर जानू, गाउँ निस्कने बाटो कतै अलमलिने कुरो आउँदैन । तँ सजिलै गाउँ निस्कन सक्छस् ।" बाबुको यस्तो अक्कलका बारेमा आङ्फुर्वाले कुनै कल्पनासम्म गरेको थिएन । पिठिउँमा बोकेर ल्याउँदा बूढा बाबु बाटाको आसपासका बुट्यानका मुनाहरू किन भाँच्छन् भन्ने कुरा भने उसलाई लागेको थियो । अब झन् आङ्फुर्वा धर्मसङ्कटमा पर्यो । आफूप्रतिको बाबुको यस्तो अगाध मायाले गर्दा फर्किन उचालेको आङ्फुर्वाको पाइलो अघि बढ्न सकेन । उसले आफूलाई धिकार्यो, आफ्नो देशको यस किसिमको चलन पनि उसलाई मन परेन । अशक्त हुँदैमा यस्तो घनघोर जङ्गलमा बाबुलाई अलपत्र छोडेर आफू मात्र एक्लै घर फर्किन उसलाई आफ्नो मनले दिएन । उसले छरछिमेकीले समेत सुइँको नपाउने गरी बूढो बाबुलाई घरमा नै लुकाएर पाल्ने विचार गर्यो । जङ्गलमा पुऱ्याएको बाबुलाई पिठिउँमा बोकेर फेरि आङफुर्वा घरतर्फ लाग्यो ।

अशक्त बाबुलाई लुकाएर आङ्फुर्वाले पालेको केही दिन भएको थियो । खरानीको डोरी बाटेर ल्याउने व्यक्तिलाई सरकारी खजानाबाट धेरै धनसम्पत्ति बक्सिस दिनुको साथै ऊसित राजकुमारीको विवाहसमेत गरिदिने राजाबाट घोषणा भयो । राजाले यस किसिमको घोषणा आफ्ना प्रजाहरू कत्तिसम्म जुक्तिवाल रहेछन्, त्यसको जानकारी लिन गरेका थिए । राजाका सिपाहीहरू राजाको यो घोषणा सुनाउन झ्याली र झ्याम्टा बजाउँदै गाउँघरको घरदैलोसम्म पुगे । राजाको यो घोषणा आङ्फुर्वाले पनि सुन्यो। उसले सबै कुरा आफूले लुकाएर राखेका बाबुलाई बतायो । गरिब र अविवाहित भएकाले आङ्फुर्वाका लागि यो अवसर निकै महत्त्वपूर्ण मानिनु स्वाभाविक नै हो ।

आड्दावाले छोरालाई खरानीको डोरी बाट्ने जुक्ति बतायो । बाबुले भनेबमोजिम आङ्फुर्वाले मस्याइलो सानो फल्याकको दुवै छेउमा काँटी ठोक्यो र बाबियोको खिरिलो डोरीको तान लगायो । पूरै सल्कने किसिमबाट त्यो डोरी बाल्यो । डोरी पनि नभन्दै जलेर खरानी भयो । उसले त्यसपछि त्यो फल्याकलाई नहल्लाईकन राजाकहाँ लग्यो । यो देखेर राजा धेरै खुसी त भए तर घोषणाबमोजिमको बक्सिस् दिने कुरा भने गरेनन् । आङ्फुर्वालाई सात दिनभित्र सम्पन्न गर्न भनी राजाले अर्को जुक्ति लगाउने समस्या दिए । आङ्फुर्वाले दुवैतर्फ बराबर गोलाइ भएको काठको लठ्ठीको फेद र टुप्पो पत्ता लगाउनुपर्ने भयो। पत्ता लाउन नसके ज्यानै लिने कुरा राजाले भनेका थिए । आङ्फुर्वाले यो सबै कुरा पनि बेलुका गएर बाबुलाई सुनायो । यसपटक ऊ बढी चिन्तित देखिएको थियो । "सबै समाधान हुन्छ, पीर नगरी सुत्" आड्दावाले छोरालाई भन्यो ।

आङ्फुर्वा भोलिपल्ट बिहान सदाको भन्दा सबेरै उठ्यो । उसको अनुहार अलिक निन्याउरो थियो । राजाको आदेश अलिकति तलमाथि भयो भने ज्यानै जान सक्छ भन्ने उसलाई लागेको थियो । राजाको अगाडि बाबाकी दुहाई भन्ने कुरालाई पनि उसले राम्ररी बुझेको थियो । उसले बूढो बाबुसँग लड्डीको फेदटुप्पो छुट्याउने उपाय सोध्यो । आड्दावाले लड्डीलाई ठीक बीचमा डोरीले बाँध्न र डोरी हातमा लिएर त्यसलाई पोखरीमा बिस्तारै डुबाउन भन्यो । पानीमा सर्वप्रथम डुबेको भाग फेद र पछि डुबेको भाग टुप्पो हुने कुरा पनि आड्दावाले छोरालाई बताइदियो । आङ्फुर्वाले बाबुले भनेबमोजिम लट्ठीको फेदटुप्पो फेला पारेर राजाकहाँ जाहेर गर्यो । चित्तबुझ्दो रूपमा कुरा जाहेर भएकाले राजा यसपटक पनि निकै खुसी भए तर पहिलेकै जस्तो घोषणाबमोजिमको बक्सिस् भने दिएनन् । बरु उल्टै अर्को एउटा थप समस्या राजाले तीन महिनाभित्र सम्पन्न गर्नका लागि भने । समस्या यसप्रकारको थियो- बजाएर त सबै बाजा बज्छन्, नबजाईकन बज्ने बाजा कुन हो । त्यस किसिमको बाजा राजाकहाँ आङ्फुर्वाले दाखिला गर्नुपर्ने भयो ।

आङ्फुर्वा अब भने दिक्क भइसकेको थियो । चोक्टा खान गएको झोलमा डुबेर मर्नुपर्ने भयो भन्ने उसलाई लाग्यो । तर आड्दावाले उसलाई यो काम पनि सजिलै सम्पन्न हुन सक्छ भनेर आश्वासन दियो र धैर्य गर्न र हरेस नखान भन्यो। "अगाडि आइपरेका कामहरू बुद्धिमानी ढङ्गबाट सम्पन्न गर्दै जानुपर्छ, मानिस हुनुको सार्थकता यसैमा रहेको छ" आड्दावा यही कुरा सधैंजसो आफ्नो छोरालाई भन्ने गर्थ्यो । नबजाईकन बज्ने बाजाको व्यवस्था मिलाउने उपाय पनि उसले छोरालाई बताइदियो ।

आङ्फुर्वाले सानो प्वाल भएको सिमलको हुँडलाई गोहोराको पातलो छालाले दुवैतर्फबाट मोरेर त्यसमा मौरीपालन गर्यो । घारको प्वालबाट मौरीहरू बाहिर जान सक्तैनथे । सास फेर्नसम्म भने सक्थे । भुनुनु आवाज निकाल्दा र पातलो छालामा मौरीहरूले ठक्कर दिँदा सङ्गीतको मीठो स्वर सुनिन्थ्यो । उसले तीन महिनाभित्रै आफ्नै हातले मौरीको यो घार राजाको हातमा होसियारीपूर्वक हस्तान्तरण गर्यो । राजाले पनि आङ्फुर्वाले दिएको मौरीको घारलाई यसले केकेन ल्यायो भन्दै आफ्नै हातले ग्रहण गरे । आङ्फुर्वाको हातबाट राजाको हातमा मौरीको घार सुम्पिँदा हुँड हल्लियो र घारका मौरीहरू घारभित्र भुनभुनाए । मौरीहरूले पातलो छालामा स्पर्श गर्दा र भुनुनु आवाज निकाल्दा त्यस घारबाट मीठो सङ्गीतको सुरिलो ध्वनि निस्कियो । यस किसिमको नबजाईकन बज्ने बाजा पाउँदा राजा आफुर्वाबाट निकै प्रभावित भए । तर यी सबै कामहरू आङ्फुर्वाको बुद्धिबाट नै सम्पन्न भएको भन्ने कुरामा भने राजालाई विश्वास भएन र राजाले वास्तविकता जान्न चाहे ।

आङ्फुर्वा दोधारमा पर्यो । साँचो कुरो बताउँदा सरकारी कानुन उल्लङ्घन गरेको रहस्य खुल्न गई घरमा लुकाएर राखेका बाबुलाई फेरि जङ्गलमा धपाउनुपर्ने र आफू पनि सजायको भागी हुने सम्भावना छ । झुटो बोलौँ राजाको सामु वास्तविकता लुकाउने सामर्थ्य आफूमा छैन । यस्तो स्थितिमा उसले वास्तविकता पनि नबताउने र पुरस्कारको लोभ पनि नगर्ने इच्छा राजालाई जाहेर गर्यो । तर राजाले यो कुरालाई स्वीकार गरेनन् । अन्त्यमा आङ्फुर्वाले केही नलागी सबै भएभरको वास्तविक कुरा राजालाई बतायो । तर आफू र आफ्ना बाबुलाई कुनै किसिमको सजाय नगर्न राजासँग अनुरोध पनि गर्यो । आङ्फुर्वाको कुरा सुनेर राजा एकक्षण त अलमल्लमा परे । अशक्त बूढाबूढीलाई जङ्गलमा धपाउने कानुन कसको पालामा बने र कुन रूपमा लागू भइरहेको थियो, त्यसबारेमा राजालाई केही थाहा थिएन । राजाले मन्त्रीलाई बोलाएर सोधे । धेरै पुरानो परिपत्रको आधारमा त्यस किसिमको प्रचलन धेरै समय अगाडिदेखि चल्दै आएको कुरा मन्त्रीले पनि राजासँग बिन्ती बिसाए । "अब आइन्दा काम गर्न नसक्ने बूढाबूढीलाई घरनिकाला नगर्नू । उनीहरूको अनुभव पछिल्लो पुस्ताका लागि महत्त्वपूर्ण हुन आउँछ । उनीहरूका अर्तीउपदेशलाई सल्लाहका रूपमा स्वीकार गर्नू । त्यस्ता बूढापाकाको कदर भएमा देउता पनि खुसी हुन्छन् भनेर राज्यका सबै प्रजालाई सुनाउनू ।" राजाले यस किसिमको घोषणा तत्काल लागू गर्न मन्त्रीमहोदयलाई आदेश दिए । आदेशअनुसार राजाको घोषणा सम्पूर्ण राज्यभरमा तुरुन्तै प्रचारप्रसार भयो । आङ्फुर्वाको विवाह पनि पूर्वसर्त बमोजिम राजकुमारीसँग सम्पन्न भयो । आड्दावालाई पनि सम्मानसाथ दरबारमा भित्र्याइयो र सल्लाहकार बनाइयो । यसपछि आड्दावा र आङ्फुर्वा दुवै बाबुछोरा सुखपूर्वक दरबारमा रमाएर रहन थाले ।

Post a Comment

0Comments

Feel free to leave your comment below or get in touch with me on WhatsApp/Viber number: +9779844128670

Post a Comment (0)

#buttons=(Ok, Go it!) #days=(20)

Our website uses cookies to enhance your experience. Learn more
Ok, Go it!