मानिसलाई कति जमिन चाहिन्छ ?

""""""""«"""""""""""«"""""""""«"""""""""""
रुसको एउटा गाउँमा बस्ने बहिनीलाई भेट्न दिदी सहरबाट आइन् । उनीहरूले गाउँ र सहरका बारेमा कुराकानी गरे। दिदीले सहरको र बहिनीले गाउँको पक्ष लिइन् । बहिनीको लोग्ने प्याखोभले पनि गाउँको जीवनको प्रशंसा गर्दै भन्यो, "मसंग प्रशस्त जग्गा छैन र पो
त । नत्र त गाउँमा बस्नु त सहरमा बस्नुभन्दा साह्रै रमाइलो हुन्छ ।"
प्याखोभकी छिमेकी एउटी महिला थिइन् । उनको प्रशस्त जमिन थियो। जमिनको सुरक्षाका लागि उनले एउटा अवकाशप्राप्त सैनिक राखेकी थिइन्। उनको जग्गामा कसैका गाईवस्तु पसे भने ठूलो जरिवाना तिर्नुपर्थ्यो। प्याखोभले पनि गाईवस्तु पसिदिनाले पटकपटक जरिवाना तिर्नुपरेको थियो । पछि उनले सैनिकलाई जग्गा बेच्ने विचार गरिन् । यो थाहा पाएर प्याखोभले पनि आफ्ना घोडा र माहुरी बेचेर दस बिघा जति जग्गा किन्ने पैसा जुटायो र जग्गा किन्यो पनि । प्याखोभ खुसी भयो। उसले उब्जनी पनि प्रशस्त गर्यो । अरूका गाईवस्तु आफ्नो जमिनमा पस्न सक्दैनथे । बाली पनि सुरक्षित नै थियो तापनि ऊ अरूलाई आफ्नो जमिनमा गाईवस्तु छोडिदियौ भनेर गाली गरिरहन्थ्यो । यसबाट गाउँलेहरू आजित
भए । साँच्चै गाईवस्तु छाड्ने, अन्न चोर्ने, रूखहरू काटिदिने आदि गर्न थाले ।
"यी मूर्ख गाउँलेहरूलाई सजाय नदिई भएन ।" प्याखोभ आक्रोशित भयो । उसले गाउँ विकास समिति र जिल्ला अदालतमा उजुर गरेर गाउँलेहरूलाई दुःख दियो । उनीहरू गाउँ छोडेर अन्यत्र जाने सल्लाह गर्न थाले। प्याखोभ भने गाउँलेको जमिन किनेर धनी वन्ने सपना देख्न थाल्यो ।
एकदिन बेलुका प्याखोभका घरमा एकजना पाहुना आए । उनी भोल्गा पारीको गाउँबाट आएका थिए । प्याखोभले उनको सत्कार गर्यो । पाहुनाले आफ्नो गाउँमा सबै एउटा मुलीको मातहतमा बस्ने र सबैले दस विघा जग्गा त सित्तै पाउने व्यवस्थाका बारेमा बताए । उनले आफूले पनि त्यही जग्गाको आम्दानीबाट पचास विघा जग्गामा गहुँखेती गरिरहेको बताए । पाहुनाका कुरा सुनेर प्याखोभ साह्रै खुसी भयो । "म पनि किन यहाँ कुण्ठित भएर बस्ने । यो घर र जग्गा बेचेर त्यहीँ जानुपर्यो" उसले विचार गर्यो ।
नभन्दै प्याखोभले आफ्नो घरजग्गा वेच्यो र भएभरको पैसा लिएर भोल्गापारिको गाउँ सामारा पुग्यो । त्यहाँ पाहुनाले भनेजस्तै व्यवस्था रहेछ । उनीहरूले प्याखोभलाई खेती गर्न र वस्तु चराउन पचास बिघा जमिन दिए ।
उसले त्यहाँ गहुँखेती गर्न थाल्यो । तर गहुँको खेती गर्नका लागि दुईवर्ष बाँझो राखेको जमिन मात्र उपयुक्त हुन्थ्यो । धेरै पैसा जम्मा गरेर अझै जग्गा जोर्न उसले जमिनदारसँग भाडामा जग्गा लिएर एक वर्ष त खेती गर्यो । तर यो जग्गा उसको घरबाट टाढा परेकाले उसले सोचेजस्तो फाइदा लिन सकेन । जग्गाकै विषयमा किसानहरूसँग झगडा पनि पर्न थाल्यो । उसले अन्यत्र कतै जग्गा किन्न पाए हुन्थ्यो भन्ने सोच्न थाल्यो ।
एकदिन बास्किरका एउटा व्यापारी घोडा किन्ने निहुँमा प्याखोभको घरमा आइपुगे । उनले प्याखोभको समस्या बुझे । उनले भने, "वास्किरवासीहरू ज्यादै सोझा र इमानदार छन् । उनीहरूसँग प्रशस्त जमिन छ । उनीहरूलाई गलैंचा, चिया र भेडा उपहार दिन सके एक बिघा जग्गा त एक रुबलमै दिन्छन् । मैले त एकहजार रुबलमा पाँचहजार बिघा जग्गा किनेको छु ।"
प्याखोभलाई बास्किर जान मन लाग्यो। ऊ गलैंचा, चिया र अन्य उपहार बोकेर बास्किर पुग्यो ।
बास्किरबासीहरूले प्याखोभको राम्रो स्वागत गरे र मीठो भोज खुवाए । उसले पनि उपहार बाँड्यो । भोजको कार्यक्रम सकिएपछि बास्किरबासीहरूले प्याखोभलाई भने, "हामी तपाईंप्रति कृतज्ञ छौं । उपहार लिएपछि त्यसको बदलामा पाहुनाको इच्छा पुऱ्याउने हाम्रो परम्परा छ ।
भन्नुहोस् हामीले तपाईंको इच्छा पूरा गर्न के गरौं ?"
प्याखोभले कुरा नलुकाई भन्यो, "म बसेको ठाउँको जमिनमा उब्जनी ज्यादै कम हुन्छ । यहाँको जमिन ज्यादै उर्वर रहेछ । यता केही जमिन किन्न पाइन्छ कि भनेर आएको !"
"हामी तपाईंलाई चाहिएजति जमिन दिन त सक्छौं तर यसका लागि स्टार्सिनालाई भेट्नुपर्छ । उनको निर्णयविना केही हुन सक्दैन ।"
प्याखोभ स्टार्सिनाकहाँ पुग्यो र राम्रो उपहार दियो। उसले स्टार्सिनासँग पनि सकेसम्म धेरै जग्गा पाउनका लागि विनम्र अनुरोध गर्यो ।
"हुन्छ, हामीसँग प्रशस्त जग्गा छ । पहिले हेर्नुहोस्, रोज्नुहोस् अनि किन्नुहोला । कागज पनि पछि नै गरौंला ।"
"अनि जग्गाको मूल्य कति पर्छ नि ?"
"एक दिनको एकहजार रुबल ।"
"मैले राम्रोसँग कुरा बुझिनँ । मैले त सधैंका लागि जग्गा किन्न खोजेको । भाडामा लिन खोजेको होइन ।
"भाडाको कुरा होइन" स्टार्सिनाले प्याखोभ जग्गाको कत्तिको लोभी छ भन्ने कुरा बुझ्यो र भन्यो, "तपाईंले हिँडेर जति जमिन घेर्न सक्नुहुन्छ, एकहजार रुबलमा त्यति नै जग्गा पाइन्छ ।"
"मैले एकै दिनमा धेरै लामो दूरी पार गरें भने नि ?" अचम्म मानेर प्याखोभले प्रश्न गर्यो ।
"एक दिनमा घेर्न सकेको सबै जग्गा पाइन्छ, धेरै र थोरैको कुरा
हुँदैन ।" स्टार्सिनाले मुस्काएर भन्यो ।
त्यस रात प्याखोभलाई निद्रा लागेन । कसरी धेरै जग्गा हात पार्न सकिन्छ भन्ने चिन्ताले उसलाई सताइरह्यो । भोलि नै जग्गाप्राप्तिको यात्रा सुरु हुने भएकाले उसले सूर्योदयको प्रतीक्षा गरिरह्यो । उज्यालो हुन लाग्दा मात्र उसका आँखा लागे ।
प्याखोभ झल्याँस्स बिउँझियो । उज्यालो भइसकेछ । उसले बास्किरवासीहरूलाई बोलायो । त्यहाँ स्टार्सिना पनि उपस्थित भयो। सबैको सहमतिमा यात्रा सुरु गर्ने ठाउँ निर्धारण गरियो ।
"तपाईंको पैसा यहीं राख्नुहोस् । हामी यो पैसा कुरेर बस्छौँ । तपाईंका सहयोगी पनि यहीं बस्छन् । तपाईं सूर्यास्तपूर्व यस ठाउँमा आइपुगेपछि मात्र हामी यो पैसा लिनेछौँ ।" स्टार्सिनाले प्याखोभलाई भन्यो ।
प्याखोभले कम्मरमा पेटी कस्यो, बुट मिलायो, झोलामा केही रोटी राख्यो र एक जग पानी बोकेर यात्रा सुरु गर्यो। उसले नजिकैको पहाडबाट समथर र उब्जाउ फाँट देख्यो । ऊ हतार हतार गर्दै त्यतैतिर दौडिन थाल्यो। मध्याह्नको बाह्न बज्दा उसले त्यस भूमिमा आफ्नो पाइला राख्यो । तर उसको चित्त बुझेको थिएन । ऊ सोच्दै थियो, "मैले दिनभरिमा कम्तीमा २८००० एकड जमिन घेर्न
सक्नुपर्छ ।"
त्यतिन्जेलसम्म ऊ निकै थाकिसकेको थियो तापनि उसले थकाइ मारेन । दुइटा रोटी र अलिकति पानी खाएर अगि बढ्यो। केही पर पुगेपछि उसले एउटा सुन्दर उपत्यका देख्यो । उसलाई त्यो उपत्यका पनि घेर्ने इच्छा लाग्यो ।
प्याखोभलाई हिँड्न गाह्रो भइरहेको थियो। उसलाई मैले लक्ष्य प्राप्त गर्न कठिनाइ पर्ने त होइन भन्ने पनि लागिरहेको थियो। तर उसको मनले भन्दै थियो, "मैले सूर्य डुब्नुभन्दा पहिले निक्कै जग्गा
घेर्नुपर्दछ ।"
प्याखोभ इस्टकोट, जुत्ता, जग र टोपी फालेर दौड्यो । उसका कमिज र सुरुवाल पसिनाले चुर्लुम्म भिजे । उसको मुटु थकाइ र डरले काम्न थाले पनि ऊ लक्ष्यको नजिक पुग्दै थियो । बास्किरवासीहरूले सफलताको कामना गरेर हात हल्लाएको पनि उसले देख्यो । सूर्यले भने क्षितिजलाई छुनै लागेको थियो ।
ऊ अत्यन्त चिन्तित भयो। उसले सोच्यो, "अहिले मसँग प्रशस्त जमिन छ तर अब ईश्वरले चाहे मात्र म बाँच्छु । नत्र मेरो जीवनको नै अन्त्य हुन्छ ।" क्षितिजमा रातो सूर्य आधा डुबिसकेको थियो । ऊ झन् दौड्यो। भाग्यवश सूर्य डाँडामा नलुक्दै ऊ सुरु बिन्दुमा पुग्यो । सूर्य डुब्नुपूर्व नै उसका हातले चिनो छोइसकेका थिए ।
"वाह । विजयी पुरुष । तिमीले आफ्नो लागि निकै जमिन कमायौ। म तिम्रो मिहिनेतको प्रशंसा गर्छु ।" स्टार्सिना मुस्कुरायो ।
प्याखोभका सहयोगी त्यहाँ आए। तर प्याखोभ असाध्य पीडाले ढलिसकेको थियो । उसको मुखवाट रगत बगिरहेको थियो। उसका सहयोगीले उसलाई बचाउन निकै प्रयास गरे तर केही क्षणमै प्याखोभको प्राणपखेरु उड्यो।
"अब प्याखोभलाई गाड्नुबाहेक अरू उपाय छैन" स्टार्सिनाले प्याखोभका सहयोगीहरूलाई • भन्यो ।
बास्किरबासीहरू उठेर घरतिर लागे । प्याखोभका सहयोगी नोकर मात्र त्यहाँ बाँकी रहे। उनीहरूले प्याखोभको शिरदेखि पाउसम्म पुग्ने खाडल खने र प्याखोभलाई परिदिए ।
(लियो टल्स्टायको 'हाउ मर्च ल्यान्ड डज ए म्यान निङ' कथामा आधारित)
#copy #story

Feel free to leave your comment below or get in touch with me on WhatsApp/Viber number: +9779844128670