श्रवणकुमार

👇
👇
कुनै एक ठाउँमा एक जना केटा थिए । उनको नाम श्रवणकुमार थियो । उनी आफ्ना बाबुआमाका एउटै मात्र छोरा थिए । उनी निकै बलिया र फुर्तिला थिए ।
श्रवणकुमारका बाबुआमा अन्धा थिए । उनीहरू बूढा पनि भइसकेका थिए । उनीहरू एक ठाउँबाट अर्का ठाउँमा आफैं हिंडडुल गर्न सक्दैनथे । तर श्रवणकुमार उनीहरूलाई डोर्याई हिडाउँथे र उनीहरूलाई नुहाइदिन्थे । उनी आफ्ना बा-आमाका पूजाका सामानहरू ठीक पारिदिन्थे । उनी आफैं भात पकाउँथे । उनी पहिले बाबुआमा-लाई खुवाउँथे अनि मात्र आफू खान्थे । त्यसपछि उनी फलफूल खोज्न वनतिर जान्थे । उनी कहिले काहीं भिक्षा मागेर पनि ल्याउँथे । उनी बाबु-आमालाई कुनै कुराको पनि दुःख नहोस् भन्ने ख्याल राख्थे । यसैले उनी रातदिन बाबुआमाका सेवामा लागिरहन्थे । छोराको यस्तो भक्ति देखेर उनका बाबुआमा असाध्य खुशी थिए ।
एक दिनको कुरा हो । श्रवणकुमारका बाबु-आमालाई तीर्थ जान मन लागेछ । उनीहरूले आफ्नो मनको कुरा छोरालाई सुनाए । श्रवण - कुमार यो कुरा सुनेर झन् खुशी भए । उनले बाबुआमाको झन् ठूलो सेवा गर्ने मौका पाए । भोलिपल्ट बाबुआमा दुवै जनालाई खर्पनमा दुईतिर बोकी उनी तीर्थ गर्न हिंडे ।
बाटामा पानी पर्यो । खोलानालामा बाढी आयो । कहिले हुरी चल्थ्यो । कहिले असिना पर्थ्यो । तर श्रवणकुमार पटक्कै आत्तिएनन् । उनले आफ्ना बाबुआमाको सेवाटहल गरी नै रहे। यिनको यस्तो राम्रो काम देखेर अरू मानिसहरू पनि छक्क पर्थे ।
बाबुआमाले जहाँ-जहाँ जान्छौं भने श्रवण-कुमारले उनीहरूलाई त्यहाँ-त्यहाँ लगे । उनले बाबुआमालाई ठाउँ-ठाउँको तीर्थ गराए, देवी-देवताको दर्शन पनि गराए । श्रवणकुमार बाबु-आमालाई ठाउँ-ठाउँको नाम भनिदिन्थे । उनी ती ठाउँहरूको बयान पनि गरिदिन्थे । उनका बाबुआमालाई आफ्नै आँखाले देखेको जस्तै हुन्थ्यो ।
एक दिन उनीहरू एक तीर्थबाट अर्को तीर्थमा जाँदै थिए । वनको बाटो थियो । गर्मी पनि असाध्यै थियो । श्रवणकुमारका बाबुआमालाई तिर्खा लाग्यो । उनीहरूले पानी खान खोजे, तर त्यहाँ नजिकै धारा, कुवा वा खोलो केही थिएन । बूढाबूढीले छोरालाई दुःख होला भनी केही भनेनन्, तर श्रवणकुमारले त्यो कुरा थाहा पाइहाले । उनले भने- "हजूरहरू एकछिन आराम गर्नुहोस् । म तुरुन्तै पानी खोजेर ल्याउँछु ।"
यसपछि श्रवणकुमारले बाबुआमालाई एउटा ठूलो वरको रूखको छहारीमा बसाले । उनी आफूचाहिं कमण्डलु लिएर पानी खोज्न हिंडे । त्यस जंगलमा पानी कतै भेटिएन । पानी खोज्दै श्रवणकुमार यताबाट उता दौडे । बल्लबल्ल एक ठाउँमा तलाउ देखियो । उनी झटपट त्यहाँ पुगे । उनले कमण्डलु तलाउमा डुबाए । यत्तिकैमा एक जना शिकारीले पर जंगलबाट बाण हाने ।
त्यो बाण आएर श्रवणकुमारलाई लाग्यो । विचरा त्यही तलाउका छेउमा पछारिए ।
त्यो बाण एक जना शिकारीले हानेका थिए । तिनले मृग ठानेर हानेको बाण श्रवणकुमारलाई लाग्न पुग्यो । तलाउमा पुगेपछि मात्र उनलाई साँचो कुरा थाहा भयो । ती शिकारी अयोध्याका राजा दशरथ थिए । श्रवणकुमारलाई बाण लागेको देखेर राजा दशरथले सारै दुःख माने ।
उता श्रवणकुमार तलाउको किनारमा छटप-टाइरहेका थिए । उनको कोखामा बाण गाडिएको थियो। उनी चिच्याइरहेका थिए- "लौन बा, लौन आमा ! म मरें ।" दशरथ दौडदै गए । उनले श्रवण-कुमारको शरीरबाट बाण झिकिदिए । दशरथले श्रवणकुमारको टाउको आफ्नो काखमा राखे । उनले श्रवणकुमारका शरीरमा पानी पनि छर्कि दिए । दशरथले श्रवणकुमारसँग माफी मागे । श्रवण कुमारले छट्पटाउँदै भने- "भैगो यी सबै कुरा अहिले मसँग नगर । बरु मेरा बा-आमा अलि पर वरको रूखमुनि तिर्खाले छट्पटाइरहेको हुनु होला । झट्टै त्यहाँ गएर उहाँहरूलाई पानी खुवाऊ, जाऊ गइहाल झट्टै ।" यसपछि उनी बोल्न सकेनन् । बाबु-आमालाई संझदै केही बेरपछि उनको सास पनि गइहाल्यो । दशरथ झन् आत्तिए । उनी त्यही कमण्डलुमा पानी लिई श्रवणकुमारका बाबुआमा भएतिर हस्याङफस्याङ गर्दै दौडिए ।
श्रवणकुमारका बाबुआमा छोराको बाटो हेरिरहेका थिए । तिर्खाले उनीहरूका ओठ र घाँटी सुकिसकेका थिए । यत्तिकैमा दशरथ पानी लिएर त्यहीं पुगे । उनले नजिकै गएर भने-"पानी ल्याएको छु, खानुहोस् ।" तर यो आवाज श्रवणकुमारको होइन भन्ने उनीहरूलाई लाग्यो । उनीहरूले सोधे- "तपाई को हो ? खोइ हाम्रा छोरा ?"
दशरथले भने- "पहिले पानी खानुहोस् । तपाईंहरूलाई धेरै तिर्खा लागेको छ । अनि म सबै कुरा भन्नेछु ।" तर बूढाबूढीले मानेनन् । उनीहरूले भने- "पहिले सबै कुरा भन्नुहोस् । अनि मात्र पानी खान्छौं ।"
दशरथलाई साँचो कुरा सुनाउन करै लाग्यो । आफ्नो भूलले गर्दा श्रवणकुमार मरेको कुरा उनले सुनाए । बूढाबूढी अलापविलाप गर्दै रुन थाले । दशरथले उनीहरूलाई धेरै किसिमले सम्झाए । उनले आफ्नो राज्यमा लगी उनीहरूलाई आफ्ना आमाबाबु जस्तै गरी पाल्छु पनि भने, तर दयालु राजा दशरथको केही लागेन । आखिर श्रवणकुमारका ज्यादै वृद्ध बाबुआमा पनि छोराको पीरले छट्पटाई-छट्पटाई त्यहीं मरि-हाले । यस घटनाले दयालु राजा दशरथलाई ठूलो चोट पर्यो ।
धन्य हुन् यी श्रवणकुमार । उनले बाबु-आमाको सेवामा आफ्नो ज्यान पनि दिए । यसैले बाबुआमाको सेवा गर्नेमा उनको नाम ठूलो छ।

Feel free to leave your comment below or get in touch with me on WhatsApp/Viber number: +9779844128670