#कर्तव्य
लगालग नौ दिन ज्वरो आएर मुखिया गङ्गाधरले संसार छोडे। उनी एउटा महान् पुरुष थिए। आफ्नू विपुल सम्पत्तिलाई उनी सधैं "जनताको थाती" भन्थे र आफूलाई त्यस सम्पत्तिको केवल एउटा सञ्चालक मात्र सम्झन्थे। गरिबहरूको चुलामा आगो नबलेको र सुत्केरी भोको रहेको समाचार सुन्नेबित्तिकै बोलाएर चाहिँदो अन्न-पैसा दिई पठाउँथे। कसैले तिर्ने भाका सोध्यो भने "सके तिर्नु, नसके तिमीहरूकै हो" भन्ने जवाफ दिन्थे। उनको जीवनकालमा कसैको बिहाबर्तुन, किरिया-श्राद्ध, दसैं तिहार अड्केन। गाउँका दीनहीन गरिबहरू बिरामी परेको सुन्नासाथ ओखतीमूलो लिएर उसका भत्केका झुपडीमा पुग्थे। गाउँका गरिबहरूलाई 'मुखिया बाको जिउ छइन्जेल हामीले अन्यायमा मर्नु पर्दैन' भन्ने दृढ विश्वास थियो। उनी आँगनमा आएर नउभिदिएसम्म मानिसहरू आफ्नो चाडवाड, काजकल्याण अपूर्ण सम्झन्थे। कसैले अन्याय गर्यो भने वरिपरि दस गाउँका दुनियाँ उनैका ढोकामा फिराद गर्न आइपुग्थे। उनको शासनकालमा कसैलाई कसैले सताउन पाएन।
गाउँका तालुकदार भए पनि उनी 'मुखियाबा' का नाउँले प्रसिद्ध थिए। उनी गाउँतिर झरे भने गाउँका सारा केटाकेटीहरू 'मुखियाबा, मुखियाबा' भन्ने कोहोलो हाल्दै आउँथे र कोही औंला, कोही लबेदाको फेर, कोही उनको लट्ठी समाउँथे। केटाकेटीहरूले त्यसो गर्दा बूढा मुसुमुसु हाँसेर कसैको गाला थप्थपाउँथे, कसैको चिउँडो उचालेर हाँस्थे। यस प्रकारले गाउँका युवावृद्धा, बालबालिका सबैका निमित्त उनी अपार प्रिय थिए। उनलाई ग्रामपिता भन्नु कति अत्युक्ति थिएन।
उनको देहावसानले गर्दा वरिपरि दस गाउँको अपार क्षति भो। भोकानाङ्गा, दुःखीदरिद्रीका बाबु मरे। बूढाबूढी, लुलालङ्गडा, कानाखोरन्डाको टेक्ने लट्ठी भाँचियो। न्यायको बत्ती निभ्यो। अनाथ-अशक्तहरूको आशास्तम्भ ढल्यो। गाउँका 'धन्वन्तरि' अस्ताए।
बिरामी कुर्न बसेका दस गाउँका दुनियाँ डाँको छोडेर रुन लागे। एउटा ठूलो आर्तनाद विद्विगन्तमा व्याप्त भो। केही बेरपछि शव उठाएर खोलातिर लगे। मलामीको लर्को गाउँदेखि तल खोलासम्म पुग्यो। मानिसहरूले भने, "कसैको मरण होस् त यस प्रकारको होस्।"
गङ्गाधरका दुई छोरा थिए- जेठा मुरलीधर र कान्छा श्रीधर। मुरलीधर पण्डित थिए। सबेरै न्वाउँथे, आधा दिनसम्म पूजापाठ गर्थे। उनी आफ्नू धर्म र संस्कृतिका उपर असीम श्रद्धा राख्दथे। आफ्ना पिताका झै उनी पनि अरूलाई सताउनु महापाप सम्झन्थे। मानिसहरू उनलाई जिल्लाका टाढाटाढा ठाउँमा बोलाएर सप्ताह पुराण सुन्थे। उनी एउटा वास्तवमा सच्चा ब्राह्मण थिए। धोतीमाथि लामू लबेदा, लबेदामाथि सेतो पटुका, शिरमा मखमलको रातो टोपी, काँधमा च्यादर, ललाटमा चन्दन, उनी सधैं यही परिधानमा हिँड्थे। जिल्लामा 'मुरली पण्डित'का नामले विख्यात थिए। आइमाईहरूको गृहकलहले गर्दा उनी बाबुसँग अघि नै छुट्टिएर बेग्लै बसेका थिए। उनका दुई जना छोरी मात्र थिए, छोरा थिएनन्।
यता भाइ श्रीधर चाहिँ राजनीतिक पार्टीका सदस्य र ग्राम विकासका प्रधान थिए। दसौं श्रेणीसम्म अङ्ग्रेजी पढेका थिए। धोक्रे सुरुवाल र कुर्ता लाउँथे। जुंगा, दारी खौरेर लामो बुलबुल पालेका थिए। कहिलेकाहीं बुलबुलको अग्रभाग निधारतिर झर्यो भने टाउको झङ्कारेर पछाडितिर सार्थे। आधा अङ्ग्रेजी, चौथाइ संस्कृत, चौथाइ नेपाली मिसाएर कुरा गर्थे। त्यसो हुनाले उनले गरेका कुरा अशिक्षित ग्रामीण जनताहरू चौथाइ मात्र बुझ्दथे। पूजापाठ गर्नु, टीकाचन्दन लगाउनु दासत्वको चिह्न हो भन्थे। वीरगञ्जको अधिवेशनमा जाँदा गोरखपुरमा 'केलनर' को होटलभित्र पसेर केके-केके खाए भनी उनका साथीहरू भन्थे। उनी आफूलाई जिल्लाभरिको प्रमुख प्रगतिवादी सम्झन्थे। हातमा चन्दा बुक लिएर चन्दा माग्दै हिँड्थे । त्रासले भनूँ या आशले भनूँ जिल्लाका सानाठूला सबै मानिसहरूमा उनको निकै धाक थियो। जिल्ला गाउँका मानिसहरू उनबाट अर्थोकमा भन्दा धनीहरूको अधियाँ बाली कब्जा गर्ने, अधीन गर्ने साहु विर्तावालहरूको लरलहना, झाराखेताला हड्प्ने काममा विशेष सहायता पाउँथे। जिल्लामा उनी 'शर्माजी' का नाउँले प्रख्यात थिए।
छोराहरू भिन्न हुँदा 'पिपले' भन्ने सयमुरी खेत बूढाले आफ्नो जिउनी राखेका थिए। कुलाको पानी लाग्ने, खोलापैराको डर नभएको, मानामुरी फल्ने, डोल परेको सार्है असल खेत थियो।
क्रिया सिद्धिएका केही दिनपछि बाबुको जिउनी खेतको विषयमा मुरलीघर र श्रीधरका बीच विवाद उठ्यो। बाबुसँग बसेकाले ऐन सवालले एकलौटी हुने भन्ने श्रीधरको र मर्ने बेलामा मेरा दुवै छोरा बराबर हुन्, "आधा-आधा बाँढेर खानू" भनी बाले भनेर जानुभएकाले आधामा मेरो पनि हक लाग्ने भन्ने मुरलीधरको भनाइ थियो।
पैंतालीस दिनको काम सिद्धिएका भोलिपल्ट जिउनी खेतको निर्णयका निमित्त मुरलीधरले गाउँका मानिसहरूलाई बोलाए। जुन आँगनमा दस गाउँका दुनियाँको होचीअर्धेली, न्यायअन्यायको निरोपण हुन्थ्यो, आज त्यही आँगनमा उनै न्यायाधीशका दुई सन्तानको निसाफ गर्न गाउँका मानिसहरू भेला भए।
मानिसहरूको दुई मत भो। उमेर पुगेका बूढापाकाले मुरलीधरको पक्ष लिए। श्रीधरका प्रभावमा परेको नयाँ ठिटाहरूले चाहिँ श्रीधरको। सम्पत्तिका धनी बाबुले नै "दुवै छोराले आधा-आधा खानू" भनेर गएपछि त्यस महाआत्माको अन्तिम आज्ञा श्रीधरले मान्नैपर्छ भन्ने निर्णय बूढापाकाले गरे, आधा-आधा खानू भन्ने लिखत पण्डित बाजेले देखाउन नसकेपछि बाबु जुन छोरासँग बसेका हुन्, ऐनकानुनले जिउनी उसै छोराको एकलौटी हुन्छ भन्ने फैसला ठिटाहरूले गरे। बूढापाकाले धर्मको न्याय गरे, ठिटाहरूले ऐनको। भोज सम्झेर गाउँका सारा कुकुरहरू पनि त्यहीं जम्मा भएका थिए। परस्पर ठूलो विवाद भो। हुल्लडवाज नयाँ ठिटाहरूका अगाडि बूढापाकाहरूको केही जोर चलेन। आखिर न्यायको केही टुङ्गो नलागी सभा विसर्जन भो। भेला भएका ठिटाहरू बूढापाकाहरूलाई छेड हानेर हाँस्दै घरतिर गए। बूढापाकाहरू पनि लाखापाखा लागे।
ग्रामसभा विसर्जन भएका अलि दिनपछि बाबुका अन्तिम आज्ञाको आधार लिएर मुरलीधरले अदालतमा नालिस दिए। धुमधामसँग मुद्दा चल्यो, गाउँका बूढापाका, तरुणतन्नेरी साराले बकपत्र गर्नुपर्यो। साक्षी बक्दा पनि गाउँ दुई भागमा विभक्त भो। "मर्ने वेला दुवै छोराले आधाआधा बाँडेर खानू भनी बूढाले भनेको हामीले प्रत्यक्ष देखेसुनेका हौं।" भनी बूढापाकाले बकपत्र गरे, ठिटाहरूले चाहिँ "होइन" भने। होइन भन्नेकै सङ्ख्या बर्ता भो।
जनक्रान्तिदेखि यता श्रीधरले अड्डाखानामा पनि आफ्नो रोबरबाफ प्रशस्त जमाइराखेका थिए। भनेजस्तो भएन भने बजारमा द्वाङ फुकेर पर्चा बाँड्दै हिँड्थे। त्यसो हुनाले अदालतका डिट्ठाविचारीहरू श्रीधरसँग अलि झस्कन्थे। उसमाथि अदालतमा मामिलाको निरोपण हुँदा बकितम्लाई भन्दा लिखितम्लाई बर्ता महत्त्व दिने रीति छ। हरेक विवादमा ऐनकानुनकै आधार लिइन्छ। कानुन श्रीधरका पक्षमा थियो। अन्त्यमा डिट्ठाविचारीले कानुनको आज्ञा पालन गरे। जिउनी श्रीधरले पाए, मुरलीधरको हार भो।
यता केही महिनादेखि श्रीधर बेरामी छन्। उनलाई तपनी ज्वरो आइरहन्छ, खोकी लाग्छ, छाती दुख्छ भन्छन्। बेथा आहारविहारको दोषबाट भएको भन्थे। शरीर सुकेर हाडछाला मात्र बाँकी थियो।
यस्तै वेलामा कुटुम्बले छोरा शशीधरलाई छोरी दिन आए। कुटुम्ब धनीमानी थिए। जिल्लामा उनको ठूलो ख्याति थियो । मधेशतिर तीनचार मौजा जिमिदारी छ भन्थे। सन्तानमा केवल यिनै एउटी छोरीमात्र हुन् भन्ने सुनिन्थ्यो। शशीधरभरखर पन्ध्र वर्षमात्र लागेको थियो, आदर्श विद्यालयको दसौं कक्षामा पढ्थ्यो । ठिटो राम्रो र बहुतै मेधाबी थियो। छोराको यति सानै उमेरमा बिहा गर्न त श्रीधरको मन थिएन । तर एउटी छोरीमात्र भएका धनी कुटुम्बले घरै आएर छोरी दिँदा उनी बडो असमञ्जसमा परे । उता आइमाईहरूले पनि बिहा गर्ने पर्छ भनेर करकर गर्न थाले। उनले आइमाईको हठलाई नाइँनास्ति गर्न सकेनन् । कामकुरो छिनियो। खुब मन फुकाएर विहाका मालसर्जाम तयार गर्न थाले ।
वैशाखको महिना थियो। मुरलीधर न्वाएर पूजाकोठामा पसेका मात्रै थिए, श्रीधरका घरमा बाजा बज्न लागेको सुनेर झ्यालबाट हेर्न लागे। आँगनमा चौकाचंदुआ गरेको, चारैतिर तोरण टाँगेको, मण्डप ध्वजापताकाले सिँगारिराखेको, निम्तामा आएका नसनाताहरू राम्राराम्रा लुगा लाएर बाहिरभित्र गरिरहेका, अरू इष्टमित्रहरू चाहिं दलान, फलैंचा, बैठकमा डम्माडम्मी भएर बसेका, मण्डपमा यज्ञसामग्रीहरू फिजिराखेका, पुरोहित बेदी अगाडि बसेर यज्ञविधि गर्न लागेका, बडों अपूर्व शोभा देखिन्थ्यो । एक छिनपछि सकीनसकी मण्डपमा आएर श्रीधरले पूर्वाङ्ग कर्म गर्न लागे ।
तर घरगृहस्थीको यति ठूलो चाडउत्सवमा दुई कान्लामाथि घर भएका आफ्ना सहोदर दाज्यूभाउज्यूलाई श्रीधरले बोलाएनन् । अरूलाई नभए पनि दाज्यूका दुईजना छोरीलाई त अवश्य डाक्नुपर्थ्यो। तिनीहरूलाई पनि डाकेनन् ।
मुरलीधरको मन एक तमासको भो । घोरिएर आकाशपट्टि हेर्न लागे । अतीतका अनेक स्मृतिहरू उनका सामुन्ने साकार भएर आए। एकपटक स्वर्गीय पिताको तेजस्वी अनुहारको पनि सम्झना भो । केही बेरपछि बर्र आँसु झारेर आफ्नो नित्य कर्म गर्न थाले ।
अपराह्नतिर दुलाहा अन्माउन थाले। मुरलीधर आफ्नो पूजाकोठाको झ्यालमा उभिएर हेरिरहेका थिए । एक छिनपछि बाजाबालाहरू मङ्गलधुन बजाउँदै अघिअघि हिँडे । त्यसपछि दुलाहाको तामदान चल्यो । शशीधरविहाका राम्राराम्रा पोसाक लाएर ताम्दानमाथि बसेको थियो। शिरमा जरीवाल गुलाफी पगरी, काँधमा रातो दोसल्ला, गलामा फूलको माला, निधारमा पहेंलो ठाडो तिलक, कानमा उज्वल टप लगाएको गन्धर्वजस्तो देखिन्थ्यो । शशीधरलाई दुलाहाका रूपमा ताम्दानमा बसेको देखेर हर्षले मुरलीधरको गहभरि आँसु भो, मनमनमा भने "कुलको जेठो सन्तान, मेरो पिण्डपानीको दाता ।"
मुरलीधरले सबै बरियातीलाई एकएक गरेर हेरे। बूढोपाको एउटा थिएन, सबै अल्लारे ठिटा मात्रै । सबैका हातहातमा चुरोट थियो, बेफ्वाकसँग धुवाँ उडाइरहेका थिए। श्रीधरचाहिँ फलैंचामा ओछ्यान लाएर पल्टिरहेका थिए ।
मुरलीधरले मनमनमा भने, "खोलामा बाको कत्रो नाउँ छ। आज पनि घरघरमा बाकै यश र कीर्तिको चर्चा हुन्छ । उसमाथि त्यस्ता घरनियाँ कुटुम्बका दैलामा बरियात जानु छ। यी ठिटाहरू चुरोट फुक्न र पुड्नपुच्छरको उट्पटाङ गफ चुट्नबाहेक अर्थोक जान्दैनन् । बाबुचाहिँ ओछ्यानमा लम्पसार परिरहेछ । यिनले बाबुबाजेको नाउँ इज्जत पखाल्न ऑटे। अब आँखा चिम्लेर बस्नु भएन भनेर मुरलीधर आफ्ना कोठामा पसे अनि लुगासुगा लाएर उनले जहानसँग भने, "कमला, मेरो दोसल्ला झिकिदेऊ ।" पतिलाई लुगासुगा लाएर हिंड्न तम्तयार भएको देखेर कमलाले भनिन्, "यस्तो टट्यानपुर घाममा कता हिँड्न लाग्नुभाको, नि ?"
"जन्त ।"
"जन्त ? नबोलाईकन त कुकुर पनि नजाओस् । "
"ठीक भन्यौ, कुकुर अज्ञानी पशु हुनाले बोलाएपछि मात्र जान्छ, मानिस चाहिँ ज्ञानवान् हुनाले बखत-मौका विचार गरेर आफैं पनि जानुपर्छ ।"
"अँ, नबोलाईकन पनि जानुपर्छ। दाज्यूलाई बाबुले मर्ने बेलामा दिएको खेत पनि खोसेर खाने त्यस्ता असत्तीको
"खाऊन्, आखिरमा त मेरो खाने पनि यिनै हुन् । मरेपछि खानुपथ्यों, जिउँदैमा खाए। त्यसको पाप धर्म उनैलाई छ ।"
"भो, म त मरे पनि जान दिन्नँ। उनलाई दाज्यूभाउज्यू नचाहिएपछि हामीले मात्रै किन अँगालो हाल्दै हिँड्ने ?"
"त्यस पाजीलाई अँगालो हाल्न जान लागेको होइन कमला यहाँ बाबुबाजेको मानमर्यादा डुब्न लाग्यो । कुलमा सबैभन्दा जेठो सन्तानको बिहे, उसमाथि त्यत्रा घरानियाँ कुटुम्बका आँगनमा बरियाती लैजानु छ । बाबुचाहिँ फलैंचामा ओछ्यान लाएर लडिरहेछ । जन्तीमा बूढोपाको एउटा छैन । खालि ओठ निचोर्दा दूध झर्ने अल्लारे ठिटा मात्र छन्। घरगृहस्थीको यति ठूलो काममा घरको एक भाइ पनि नगए जोरीपारीले के भन्लान् ? स्वर्गमा बसेका पितृहरूले के भनिठान्लान् ? तिमी अर्काको घरबाट आएकी छोरी हौ कमला; कुलको मानमर्यादा भनेको कत्रो कुरो हो। त्यो तिमीलाई थाहा छैन । जन्ती बेंसीमा पुगिसके, चाँडो दोसल्ला झिकिदेऊ ।"
कमलाले झर्कदै बाकसबाट दोसल्ला झिकेर दिइन् । दोसल्ला काँधमा हालेर लौरो टेक्दै मुरलीधर जन्त हिँडे। उनलाई यस्तो टट्यानपुर घाममा एक्लै ओह्रालो लागेका देखेर गाउँका मानिसहरू अचम्म मानेर मुखमुखमा हेर्न लागे ।
बरियात खोलापारि पुगिसकेको थियो। मुरलीधर पनि पछिपछि गए। झमक्क साँझ परेपछि दुलहीका घरमा पुगेर सुटुक्क फलैंचामा बसे। मुरलीधर पुग्दा दुलहीका बाबु बरणी गर्न लागेका रहेछन् । मानिसको घुइँचामा उनलाई कसैले चिनेनन् ।
वरणी सिद्धिएको केही बेरपछि यज्ञमण्डपको कार्य आरम्भ भो। पुरोहित बेदीमा रेखी हाल्न थाले । भित्रवाट यज्ञसामग्रीहरू आउन लागे। यज्ञ सम्पन्न भएपछि दुलाहादुलहीलाई बस्न पुग्ने गरी आसन ओछ्याएर दुलाहालाई राखे। एक छिनपछि छोरी बोकेर घरभित्रबाट दुलहीका बाबु निस्के र छोरीलाई दुलाहाका बायाँतर्फ बसाए । दुलही बसेपछि लाज माने जस्तो गरेर शशीधरअलि पर सर्यो । शशीधरले लाज मानेको देखेर मुरलीधर फलैंचामा मुसुमुसु हाँस्न लागे ।
दुलाहादुलही यज्ञमा बसेपछि दुलहीका बाबुले यताउति हेरेर भने "खै, सम्धी पाल्नुभएको छैन, अब मण्डपमा आएर बसिदिनुभएहुन्थ्यो ।"
दुलहीका पिताले बोलाएको सुनेर फलैंचाबाट मुरलीधरले भने, "ज्यू, म यहीं छु, आउन लागें ।"
मुरलीधर उठेर मण्डपमा गए। चिनेका मानिसहरूले ढोगिदिए । जेठाबाबुलाई अचानक आफूनेर उभिएको देखेर शशीधरले पनि ढोगिदियो। मुरलीधरले छोरालाई "नानी चिरञ्जीवी भए" भनेर आशिष् दिए र उसको पछाडिपट्टि बसी उसलाई आफ्नो काखनेर ताने ।
बाबुको स्थानमा मुरलीधर बस्न गएको देखेर बरियातमा आएका ठिटाहरू परस्पर कानेखुसी गर्न लागे।
मुरलीधर जिल्लाभरिका विख्यात पण्डित थिए। उनलाई कन्यापक्षका धेरै मानिसहरू चिन्दथे । श्रीधर र मुरलीधरले जिउनीका विषयमा वर्ष दिनसम्म मुद्दा लडेको पनि धेरै जनालाई थाहा थियो । कन्या पक्षका बूढापाकाहरूले भने, "त्यस्ता महापुरुषका सन्तानहरू आफ्नो कर्तव्य किन छोड्दथे । तब पो मानिसहरू कुलघरान भन्दछन् ।"
विवाहविधि आरम्भ भो। पुरोहितले ऋचामन्त्रहरू उच्चारण गर्दा अशुद्ध भएका ठाउँमा मुरलीधर सच्याइदिन्थे । शशीधर चाहिँ जेठा बाबुका छातीमा अडेस लागेर आनन्दसँग बसेको थियो। मुरलीधर बखतबखतमा गर्नुपर्ने कर्महरू छोरालाई सिकाइदिन्थे । एवम् प्रकारले विवाहविधि समाप्त भो ।
भोलिपल्ट दिउँसो दुलही अन्माइदिए । मुरलीधरले निहुरेर बुहारीको मुख हेरे, बुहारी महालक्ष्मीजस्ती रहिछन् । छोराबुहारीको रूप देखेर मुरलीधर गदगद भए। अनि दुलहीदुलाहाको डोली अगाडि लाएर मुरलीधर घरतिर फर्के।
साँझ पर्ने बेलामा बरियात गाउँनेर पुग्यो। पंधेरामाथिको चौतारामा रमिता हेर्ने मानिसको घुइँचो थियो । बरियात दोबाटोनेर पुगेपछि "लौ, घर लगेर भित्र्याऊ भनेर मुरलीधर आफ्ना घरतिर गए।
दुलही भित्र्याए पछि दाज्यू बिहेमा गएको, सबै कार्यविधिहरू आफ्नो कुलपरम्परानुसार राम्रो प्रकारसँग सम्पन्न भएको खबर श्रीधरले सुनेर गहभरि आँसु पारेर ठिटाहरूसँग सोधे, "दाज्यूलाई खानपिन त राम्ररी गरायौ के ?"
"आज एकादशी भनेर पण्डित बाजेले केही खानुभएन, भोकै आउनुभयो ।"
बिहे सिद्धिएको एक महिनापछिको कुरो हो। एकदिन बिहान मुरलीधर आफ्नो नित्यकर्म सिध्याएर फलैंचामा बसेर भागवत हेर्न लागेका थिए, त्यस्तैमा शशीधरले विस्तारविस्तार आएर मुरलीधरलाई ढोगिदियो र दलानको थाममा टाँसिएर भन्यो, "ठूला बा जिउनीको पिपले खेतमा हजुरलाई जताबाट मन पर्छ, नापेर आधा खेत कमाउनुहोस् अरे, बाले भनेर पठाउनुभा' को ।"
शशीधरको कुरा सुनेर मुरलीधरले उसका मुखतिर हेरेर मुसुमुसु हाँस्तै भने, "जिउनीको आधा खेत मैले कमाए तिमीहरू के खान्छौ नि बा ?"
शशीधरकेही उत्तर नदिएर छिछिटो आफ्नो घरतिर गयो। कमला चाहिं दैलाको आडमा उभिएर बाबुछोराको कुरा सुनिरहेकी थिइन् ।
शंशीधरले खेत कमाउने कुरो सुनाएर गएको चौधपन्ध्र दिनपछि एकदिन मुरलीधर फलैचामा बसेर नस सुँघ्दै विद्यार्थीहरूलाई रघुवंशको पाठ घोकाउँदै गर्न लागेका थिए । त्यस्तैमा श्रीधरकी सानी छोरी रमाले आएर रुन्चे मुख लाएर भनी, "ठूलबा बालाई व्यथाले चाप्यो । हजुरलाई बोलाउन पठाउनुभएको ।"
छोरीको कुरो सुन्नेबित्तिकै पढाउन छोडेर रमाको हात समाउँदै मुरलीधर भाइका घरतिर गए। श्रीधर खाटमा कोल्टे परेर सुतिरहेका रहेछन्। दाज्यूलाई देखेर बडो कष्टसँग उठेर गहभरि आँसु झारेर ढोगिदिए । भाइका आंखामा आँसु छचल्किरहेको देखेर मुरलीधरको पनि गहभरि आँसु भो । चार वर्षपछिको यी दुई दाज्यूभाइको पुनर्मिलन सारै दुःखलाग्दो देखियो ।
मुरलीधरको गहभरि आँसु भएको देखेर उनको गोडामा समाउँदै श्रीधरले रुन्चे स्वरले भने, "दाज्यू अस्तिदेखि दम बढ्न थाल्यो मलाई अब धेरै दिन बाचुँला जस्तो लाग्दैन । मैले जीवनमा हजुरका प्रति धेरै अत्याचार गरेको छु। यस अज्ञानीको सबै अपराध क्षमा गरेर यी नाबालख छोराछोरीको शरण लिइदिनुहोला ।"
भाइका कुरा सुनेर मुरलीधरले वर्र आँसु झारे। मुरलीधर रोएको देखेर श्रीधरका जहान, छोराछोरी पनि रुन लागे । एकछिनपछि मुरलीधरले भाइका निधार, छाती, हात, गोडा सबै अङ्ग छामे । उनको शारीरिक गति देखेर मुरलीधरको हृदयमा दुःखको कोलाहल मच्चियो। केही बेरपछि छातीमा भक्कानु पारेर आँसु झार्दै भने," बिसेक हुन्छ बा हरेस नखाऊ। बाले आफ्नो जीवनमा अनन्य पुण्य गर्नुभएको छ । उहाँको त्यस महान् तपस्याका प्रभावले हाम्रो अनिष्ट कदापि हुने छैन। बरु अब यहाँका वैद्यको भर गरेर बस्नुभएन । तिमीलाई देशतिर औषधी गराउन लैजान्छु।"
: यो घटना भएको छ–सात दिनपछि भाइलाई लिएर औषधी गराउन मुरलीधर देशतिर हिँडे भन्ने सुनियो ।
गुरु प्रसाद मैनालीले लेख्नुभएको यो कथा कस्तो लाग्यो comments गर्नुहोला, जसले गर्दा बाँकी कथा हामीलाई लेख्न हौसला मिल्नेछl🙏🙏🙏

Feel free to leave your comment below or get in touch with me on WhatsApp/Viber number: +9779844128670