हामी होसियार बनौ

ALK
By -
0
हामी होसियार बनौ




 "आगो ! आगो ! आगो !" - रामलाल निसास्सिएर यति मात्र बोल्न सक्यो।

उसकी आमा तल भान्छामा भात पकाइरहेकी थिइन् । रामलाल यस्तरी निसास्सिएर "आगो ! आगो । आगो।" मात्र भनेको सुन्दा उनी पनि आत्तिइन् र उनले सोधिन् - "के भो ? के भो ? के आगो, आगो । किन निसास्सिएको ?"

"माथि हिँड्नोस् भन्या' । आगो लाग्यो ।"- रामलालले बल्ल प्रस्ट 
पार्यो ।

"लौन नि ! के बित्यास पर्यो अब ।" रामलालकी आमा दौडिदै माथि पुगिन् । नभन्दै सिरकलाई आगोले सखाप पारिसकेछ र डसना पनि बल्न थालिसकेछ । रामलालकी आमाले हत्तपत्त तल गाग्रीबाट पानी ल्याइन् र रामलाललाई पनि बाल्टिनमा पानी ल्याउन अराइन् । दुवै आमाछोराले ओछ्यानमा पानी खन्याए । आगो त निभ्यो तर उनीहरूको आढ्ने ओछ्याउने भने सखाप भयो । तै आगो ह्वारह्वार बलेको रहेनछ । नजिक आगो लागिहाल्ने अरू कपडा केही रहेनछन् नत्र त घर नै दनदनी बल्थ्यो होला ।

आगो निभाइसकेपछि रामलालकी अमाले लामो सास फेरिन् र छोरालाई सोधिन् - " कसरी आगो लगाइस् भन् त, तैंले ?"

रामलालले रुँदै भन्यो - "मैले लगाएको होइन। बत्तीको भाँडो यहाँ झ्यालमा थियो। पढ्छु भनेर सलाई कोरेर बत्ती बाल्न लागेको थिएँ। बत्ती पनि बालें, बत्तीको भाँडो यहाँ ओछ्‌यानमा खस्यो । मट्टीतेल पोखियो अनि सिरक पनि बल्न लाग्यो ।"

"होस गर्नु पर्दैन त ? ओछ्यानमाथिको झ्यालमा बत्तीको भाँडो राखेर बाल्ने हो त ?" - रामलालकी आमाले सम्झाउँदै भनिन्- "ओछ्यान अथवा अरू कपडानजिक सलाई कहिल्यै कोर्नु हुँदैन । बलेको बत्तीलाई कपडा, कागज अथवा अरू तुरुन्त बल्ने सामानको नजिक पनि राख्नु हुँदैन। यस्तो कुरामा हामी सबैले होस पुर्याउनुपर्छ ।"

हो, हामीले जीवनमा होस पुऱ्याएर काम गर्नुपर्ने धेरै कुराहरू छन् । त्यस्ता कुराहरूबाट हामी सधैं बच्नु र जोगिनुपर्छ ।

यसैले हामी हरेकले केटाकेटीदेखि नै नोक्सान हुनबाट बच्ने उपाय सिक्दै र गर्दै जानुपर्छ। केटाकेटी अवस्थामा गरेको त हो नि पछि गएर छोड्न सकिहालिन्छ भनेर नचाहिने काममा कहिल्यै कतै पनि हात हाल्नु हुँदैन । "पल्केको तिल्के घरिघरि मिल्के" भनेझैँ हुन्छ । लागेको बानी पछि गएर छोड्न पनि गाह्रो हुन्छ । केटाकेटीको काम त हो नि भनेर त्यसलाई सानु मान्नु हुँदैन । समयमै बानी सुधार्ने काममा लागिहाल्नुपर्छ । 
यस विषयमा एउटा सानु कथा पनि पढौँ - एउटा घरमा आमा र छोरा दुई जना थिए । छोरो सधैं विद्यालय जान्थ्यो। विद्यालयबाट फर्किंदा सधैं कहिले धागो, कहिले टाँक आदि घरमा लिएर आउँथ्यो ।

आमा पनि खुसी हुन्थिन् । उनले कहिल्यै छोरालाई कहाँबाट र कसरी ल्याइस् भनेर सोधिनन् । यसलाई छोराको कमाइ सम्झिन् ।



छोरो ठूलो हुँदै गयो, उसले अब पढ्न पनि छाड्‌यो। एक दिन प्रहरी उसको घरमा आयो र उसलाई पक्रेर लग्यो । आमाचाहिँ ठानामा कुरा बुझ्न जाँदा उसलाई एउटा ठूलै डकैतीको आरोपमा पक्रिएको रहेछ । उसलाई चोर्ने बानी परेछ र ठूलो हुँदा डकैती गर्न लागेछ । त्यसपछि उसकी आमाको होस बल्ल खुलेछ । छोराले केटाकेटीमा ती सामान कसरी ल्याउँदो रहेछ भनेर अहिले पो थाहा पाइन्, तर अब थाहा पाएर पनि कुनै काम थिएन। समय बितिसकेको थियो ।

आफू-आफूमा झै-झगडा हुने, अरूलाई जिस्क्याउने, होहल्ला गर्नेजस्ता उच्छृङ्खल कार्य हामीले कहिल्यै पनि गर्नु हुँदैन। यस्ता कुलत र उच्छृङ्खल कार्यले हामीलाई अरू ठूला-ठूला नचाहिने कार्यमा अग्रसर गराउँछ । त्यस्ता कार्यहरू चोरी, डकैती, तोडफोड, आगलागी आदि हुन् ।
Tags:

Post a Comment

0Comments

Feel free to leave your comment below or get in touch with me on WhatsApp/Viber number: +9779844128670

Post a Comment (0)

#buttons=(Ok, Go it!) #days=(20)

Our website uses cookies to enhance your experience. Learn more
Ok, Go it!