बूढाको अर्ती

काठमाडौँको वसन्तपुरमा धेरै परेवा बस्थे । एक दिन उनीहरू सबै मिलेर घुम्न गए । घुम्दा घुम्दा धेरै बेर भयो । उनीहरूलाई भोक लाग्यो ।
उनीहरू उडेर घर फर्कन लागेका थिए । त्यसैबेला एक ठाउँमा भुइँभरि चामल छरेको देखियो । सबै परेवाहरूले तल ओर्लेर चामल खाने कुरा गरे ।
परेवाको बथानमा सन्ते भन्ने बूढो परेवा पनि थियो । उसले भन्यो-भाइ हो, जंगलमा चामल हुँदैन । यहाँ चामल कसरी आयो ? पक्कै पनि कसैले यहाँ जाल थापेको होला । हामी तल नओर्लौ । जालमा पर्छौ। बरु चाँडै घर जाऊँ ।
सबै परेवा भोकाएका थिए । त्यहाँ जाल पनि देखिएको थिएन । उनीहरूले बूढाको कुरा मानेनन् । चामल खान सबैजना तल
ओर्लिए ।
त्यहाँ साँच्चै जाल थापेको थियो । एउटा शिकारीले भुइँमा चामल छरेर नदेखिने गरी जाल थापेको थियो । शिकारी एउटा रूख पछाडि लुकेर उभिएको थियो ।
सबै परेवा एकैचोटि जालमा परे। तिनीहरूले कनिका पनि खान पाएनन् । उड्न पनि पाएनन् । घर पुग्न पनि पाएनन् । बूढाले भनेको मान्नुपर्ने रहेछ भन्ने होश बल्ल आयो ।
त्यति धेरै परेवा एकैचोटि जालमा परेको देखेर शिकारी हाँस्यो । उसले सबैलाई समात्यो ।
बूढापाकाले भनेको मान्नुपर्छ । बूढो परेवाले भनेको मानेका भए परेवाहरू जालमा पर्ने थिएनन् ।

Feel free to leave your comment below or get in touch with me on WhatsApp/Viber number: +9779844128670