डुहुरे मुसा र सेतो बिरालो👇
""""""«""""""""«""""""""""""«""
डुहुरे मुसाहरूको एउटा हुल जनता विद्यालयमा बस्दथ्यो । मुसाहरूले विद्यालयको कार्यालयलाई आफ्नो मुख्य थलो बनाएका थिए । एकदिनको कुरो हो, विद्यालयको पालेले ठीक पाँच बजे कार्यालयको ढोका थुन्यो । ढोका बन्द हुनासाथ मुसाहरू लुकेका ठाउँवाट फुत्तफुत्त बाहिर निस्केर कोठाभरि नाच्न र उफ्रिन थाले ।
टिन-टिन-टिनिन्न । बूढो मुसाले टेबलमा रहेको घन्टी बजायो । घन्टीको टिनटिन सुनेर कोठाका सोफा, गलैंचा, दराज, भित्तेघडी र विजुलीपङ्खामा बुद्रुकबुद्रक उफ्रेर रमाइलो गरिरहेका सबै मुसाको कान ठाडाठाडा भए । तिनीहरू चाँचाँ र चिचिंको स्वर उरालेर आँखा झिमिक्क गर्न नपाउँदैमा टेवलमाथि पुगी बूढो मुसाको वरिपरि गोलो पाराले बसे ।
सबै बसेपछि बूढो मुसो लौरो टेकेर बिस्तारै उभियो र खोक्दै त्यसले भन्यो, "प्यारा डुहुराडुहुरीहरू, अचेल हाम्रो खराब दिन आएको छ । रोजै हामीमध्ये एकदुई जना हराउन थालेका छौं । यसैबारे कुराकानी गर्न मैले तिमीहरूलाई यहाँ डाकेको हुँ ।"
त्यहाँ भएका मुसाहरूमा सबैभन्दा बाठो एउटा तन्नेरी मुसो थियो । त्यसले चस्मा ठीक गर्दै भन्यो "बाहिर पालेघरका छेउमा अचेल वेलावेला एउटा सेतो बिरालो राल चुहाएर बसिराखेको देखिन्छ । पक्कै पनि त्यो पट्के दाउ छोपेर मुसा पक्रिन पल्केको हुनुपर्छ ।"
त्यो कुरा सुनेर मुसाहरू डरले थुरथुर काम्न थाले । तिनलाई मथ्थर पार्न तन्नेरी मुसाले सान्त्वनाको शीतल वचन छर्यो, "शान्त, शान्त, यसरी आत्तिएर हुँदैन । हामीले सेतो बिरालालाई यहाँबाट धपाउने जुक्ति झिक्नुपर्छ ।"
जति बल गरे पनि मुसाहरूले कुनै जुक्ति फुराउन सकेनन् । तिनीहरू पसिनापसिना भए । तिनीहरूको त्यस्तो दयनीय अवस्था देखेर तन्नेरी मुसाले जोसका साथ भन्यो," सुन्नुहोस्, म एउटा जुक्ति भन्छु । जुक्ति के हो भने हामी सबै त्यस आइलाग्ने बिरालामाथि जाइलाग्नुपर्छ ।"
अलि जोसिंदै र अलि हच्किदै सिकुटे मुसाले भन्यो, "खोइ कसरी जाइलाग्ने होला ? त्यसले त नजिक पर्नासाथ काँचै निल्छ ।"
त्यो कुरा सुनेर बूढो मुसाले पुच्छर ठाडो पार्दै भन्यो, "नानीहरू, एकतामा ठूलो बल हुन्छ । हामी एक भएर बिरालाका सामु जाऔं र त्यसलाई धपाऔं ।"
बूढो मुसाको कुरा सुनेर मुसाहरू बिरालालाई धपाउन एकदमै जमजमाए। हातमा कलम, पेन्सिलजस्ता कुनै न कुनै हतियार लिई सबै मुसाहरू छाती उचालेर लाममा उभिए । बूढो मुसाले आदेश दिएपछि डुहुरे मुसाहरूको त्यो सुसज्जित सेना बिरालालाई धपाउन कोठाबाट वाहिर निस्कियो । लामका अघिअघि जोसिलो प्रयाणगीत गाउँदै तन्नेरी मुसो हिँडेको थियो ।
पालेघरका छेउमा सेतो बिरालो मुसाको जाफत उडाउन पर्खेर बसेको थियो । जोसमा उफ्रिदै र कराउँदै डुहुरे मुसाहरूको जुझारु दल आफूतिरै आउँदै गरेको त्यसले देख्यो । तिनलाई एकता र अखण्डताको साङ्लामा उनिई काँधमा काँध जोडेर आएको देखेर बिरालो झसङ्ग भयो । त्यसको सातो गयो र त्यसलाई खलखली पसिना आयो । एक्कासि त्यसले विद्यालयको पर्खालछेउ फालिएको कालो छाताको झुत्रो कपडालाई सम्झ्यो । त्यस कालो कपडाबाट आफ्नो बचोट हुने देखेर बिरालो मुसुक्क हाँस्यो । बिरालाका नजिक पुगेर धारेहात लगाउँदै मुसाहरूले नारा घन्काए, "तँ मुसा खाने भागिजा ! तँलाई हामी खेद्छौंखेद्छौँ !"
बिरालाले नरम भएर भन्यो, "सत्तेसत्ते, म मुसा खान्नँ । उः त्यहाँ पर्खालको पल्लो कुनामा एउटा कालो बिरालो बस्छ । मुसा खाने काम त्यही साइँदुवाको हो ।"
त्यसको कुरा पत्याएर मुसाहरू कालो बिरालो रहेको पर्खालतिर
लागे । त्यही मौका छोपेर सेतो बिरालाले लामको पछिल्लो मुसालाई च्याप्प समात्यो । संयोगवश त्यसै बखत तन्नेरी मुसाले पनि पछाडि फर्केर हेर्यो । आफ्नो रहस्य नखुलोस् भनेर सेतो बिरालाले समातेको मुसालाई हत्तपत्त छाड्यो र उनीहरूलाई बिदा गर्ने ढाँचामा हात हल्लाउन थाल्यो ।
मुसाहरू त्यहाँबाट कालो बिरालातर्फ लागेका हुँदा सेतो बिरालो पनि त्यतैतिर लाग्यो । ऊ पालेघरको प्वालमा छिरेर छोटो बाटाबाट पर्खालतिर हानिएको हुँदा मुसाभन्दा पहिला त्यहाँ पुग्यो । त्यसले त्यहाँ मिल्काइएको कालो कपडा घमलङ्ग ओढेर जिउ ढाक्यो । ऊ त्यहाँ कालो बिरालो बनेर बस्यो ।
त्यहाँ पुगेर मुसाहरूले चर्को नारा लगाए, "कालो बिरालो भागिजा ! तँलाई हामी खेद्छौंखेद्छौँ ।"
कालो बिरालाले शान्त रहेर भन्यो, "सत्ते, म मुसाहरूको भक्षक होइन रक्षक हुँ। हो, त्यो सेतो बिरालो चाहिँ असाध्यै मापाको छ । मुसा खाने त्यस पाजीलाई खेद्नै पर्छ ।"
कालो बिरालाको भनाइ ठीकै लागेर मुसाहरू मुर्मुरिँदै सेतो बिरालातर्फ फर्के । त्यही मौका पारेर बिरालाले लामको पछिल्लो मुसालाई समाउन कालो कपडाबाट हात बाहिर निकाल्यो । तन्नेरी मुसाले आँखा कर्के पारेर हेरिरहेको हुँदा बिरालाले यसपटक पनि मुसा हात पार्न पाएन ।
खिस्रिक्क पर्दै त्यसले हत्तपत्त आफ्नो हात कालो कपडाभित्र लुकायो । मुसाको लाम केही पर पुगेपछि त्यसले कालोकपडा फाल्यो । चाल मारेर त्यो अघिकै छोटो बाटो गरी पालेघरका छेउमा आयो ।
खैलाबैला गर्दै मुसाहरू पनि त्यहाँ आइपुगे । तन्नेरी मुसाले सेतो बिरालाका कानमा कालो कपडाको धागो लटपटिएको देख्यो । त्यसले सेतो बिरालाको कालो चाला बुझ्यो । त्यसले मोटो मुसा र सिकुटे मुसासँग सुटुक्क साउती गर्यो । ती दुवै मुसाहरू गुँदको ठुलो बोतल लिएर लुसुक्क कालो कपडा भएको पर्खालतिर लागे ।
मुसाहरू सामुन्ने आएपछि सेतो बिरालाले आफ्ना दुवै कान समायो, पचपची किरिया खायो र तरक्क आँसु झार्यो । त्यसले आफू होइन, कालो बिरालो नै मुसाहरूको वैरी हो भन्ने पत्यार तिनीहरूलाई गराइछाड्यो ।
सेतो विरालाको कुरो पत्याई मुसाहरू कालो बिरालामाथि खनिने सुर झिकेर फुर्तीसाथ फेरि पर्खालतिर लागे । बिरालो पनि प्वालको बाटो त्यतैतिर लाग्यो ।
पर्खालमा पुगेर सेतो बिरालाले फेरि कालो कपडा घमलङ्ग ओढ्यो । मोटो र सिकुटे मुसाले त्यस कालो कपडाभरि बाक्लो गरी गुदैगुंद दलेका थिए । बिरालाले ओढ्नासाथ कालो कपडा त्यसका जिउमा लिपिस्सै टाँसियो । त्यसले बिरालाका आँखा पनि टम्मै टाल्यो ।
त्यसै वेला कराउँदै र उफ्रिदै मुसाहरू त्यहाँ आइपुगे । आत्तिएको बिरालो एकदमै हतारिएर एकातिर दगुर्यो । आँखा छोपिएकाले बिरालो पर्खालमा ढ्याम्मै ठोक्कियो र उत्तानो पछारियो । त्यसको त्यो हबिगत देखेर मुसाहरू मजा मानीमानी गलल्लगलल्ल हाँसे । बल्लतल्ल उठेर बिरालो अर्कातिर भाग्यो । यसपटक त्यो पालेघरको भित्तामा ठोक्कियो र तीन बल्ड्याङ खाएर ढुङ्गामा थचारियो । रमाएर खुच्चिङ भन्दै मुसाहरूले थपडी बजाए । रनथनिंदै बिरालो उठ्यो । उठ्नासाथ त्यसले जता बाटो पायो त्यतै भागेको भाग्यै गर्यो । एकैछिनमा त्यो सबैका आँखाबाट ओझेल भयो ।
बिरालाले त्यसरी कुलेलम ठोकेको हुँदा मुसाहरूले ठूलो हर्कबढाइँ गरे । केही बेरसम्म त्यहीं नाचगान गरेपछि डुहुरे मुसाहरूको त्यो हुल लावालस्करका साथ विद्यालयको आफू बस्ने कार्यालय कोठामा फर्क्यो ।
यो कथा तपाईँलाई कस्तो लाग्यो र कति क्लासमा पढ्नुभएको थियो कमेन्ट गर्न नबिर्सनु होला।🙏🙏

Feel free to leave your comment below or get in touch with me on WhatsApp/Viber number: +9779844128670