वाल्मीकि

ALK
By -
0
#वाल्मीकि




धेरै अघिको कुरा हो। एकदिन केही डाँकाहरूले रत्नाकर नाउँ गरेको बालकको अपहरण गरे।

आफ्नो अबोध बालकको बिनाकारण अपहरण भएको देखी आमाबाबुलाई हुनसम्मको चोट पर्यो। ती आमाबाबुले डाँकाहरूसँग पुत्रवियोग नगराइदेऊ भनेर अनुनय विनय गरे। जति रोए कराए पनि, हात जोडे पनि ती पाषाण हृदयीका मनमा दया पलाएन। आखिरमा उनीहरूले बालकलाई लगिछाडे। बिचरा मातापिताको केही सीप चलेन। बाबुआमा सन्तानको सम्झनामा दिनरात दुःख मनाउँदै आफ्नो भाग्यलाई सराप्दै बसिरहे।

सानै भएकाले रत्नाकरले असल खराब छुट्याउन नसक्नु स्वाभाविकै थियो। डाँकाहरूका परिवारमा हुर्केका हुनाले उसमा त्यस किसिमका पारिवारिक गुणहरू आउनु कुनै नौलो कुरा भएन। पछि रत्नाकर पनि कुख्यात डाँकाका रूपमा चिनिन थाल्यो। उसको नाम र कामले गर्दा त्यस भेगका मानिसहरू त्रासपूर्ण जीवन बिताउन बाध्य भए। यात्रीहरूलाई लुट्नु, दुःख दिनुजस्ता जघन्य अपराध रत्नाकरका लागि सामान्य कुरा भए।

एकदिन देवर्षि नारद त्यही बाटो जाँदै थिए। संयोगवश रत्नाकरले नारदजीलाई देख्यो। उनीसँग भएको धनसम्पत्ति लुट्ने ध्येयले रत्नाकर ऋषिका सामु आई कडा स्वरले धम्क्याउन थाल्यो, "तिमीसँग जेजे सामान छ, सबै मलाई दिएर जाऊ, होइन भने तिम्रो ज्यान जान बेर छैन ।" यो सुनेपछि देवर्षि नारदले टक्क उभिएर शान्त स्वरमा सम्झाउँदै भने, "तिमी रत्नाकर हौ क्यार ! हेर, म त जोगी हूँ, मसँग केही छैन । बरु मार्छौ भने मार, म तयार छु ।"

रत्नाकरले निलुलाजस्तै गरी भन्न थाल्यो, "तिम्रा चिल्ला कुराले मलाई केही असर पार्दैन, बरु मर्न तयार होऊ ।" रत्नाकरका कुरा सुनी नारदजीलाई दया जागेर आयो । उनका मनमा यसलाई राम्रो अर्तीउपदेश दिए पक्कै पनि असल मानिस हुन्थ्यो कि भन्ने विचार आयो । उनले फेरि सम्झाउँदै भने, "होइन रत्नाकर, तिमी यति राम्रा छौ, बलिया पनि छौ तर काम भने खराब गर्छौं, किन? तिमीले सबैको भलो हुने असल काम गरे कति राम्रो हुन्थ्यो होला, भन त !"

रत्नाकरका लागि यस्तो कुरा बालुवामा पानी खन्याएजस्तै भयो । उसलाई यस्ता कुराले केही प्रभाव परेन र फेरि पनि अघिजस्तै रिसाएर भन्न थाल्यो, "ए फुस्रा ! तँ जति ढिलो गर्छस्, त्यति नै छिटो मृत्युको नजिक पुग्छस् । बकम्फुसे कुरामा अल्झिनुभन्दा खुरुक्क जेजे छ छाडेर लुसुक्क गइहाल् ।"

नारदजीले उसका कुरा सुनेपछि नारायण । नारायण !! गर्दै पुनः सम्झाउने क्रममा भन्न सुरु गरे, "बरु रत्नाकर, मैले अघि पनि भनें, मेरो ज्यानै लेऊ, मसँग केही पनि छैन । म प्राण दिन तयार छु । आफू मर्नुअघि एक दुई कुरा म तिमीसित सोध्न चाहन्छु, वस् त्यसको जवाफ देऊ । यति भयो भने म हाँसीखुसी मर्न तयार हुनेछु ।" यो सुनेपछि रत्नाकरले तत्कालै जवाफ दियो, "हुन्छ, जे सोध्न मन लागेको छ, छिटो सोधिहाल ।" रत्नाकर अलिक नरम भएको जस्तो मानेर नारदजी सोध्न थाले, "तिमी मानिसहरूको धनसम्पत्ति लुट्छौ, मानिसहरूलाई कुटेर दुःख दिन्छौ । यी सम्पत्तिहरू कसका निमित्त जम्मा पाछौँ जजसले यो सम्पत्ति बाँडीचुँडी खान्छन्, तिनीहरूले पनि तिमीले गरेको पाप बरावर बाँड्छन् कि बाँड्दैनन् ? तिमीले यस्तो पाप गरी कमाएको सम्पत्तिमा अरूले पनि पापको फल भोग्छन् कि भोग्दैनन् ?" रत्नाकर जवाफ दिन खोज्दै थियो नारदजीले नम्र स्वरमा उसतिर फर्कदै फेरि भने, "रत्नाकर तिम्रो हातवाट हुने पापकर्म हेर्दा मलाई ज्यादै दुःख लाग्छ । जसका लागि तिमी खराब काम गछौँ, त्यसको परिणाम तिमीले मात्र भोग्नुपर्छ । उनीहरूले तिमीलाई साथ दिँदैनन् । जब तिनीहरूबाट यस कुरामा साथ मिल्दैन भने तिमीमात्र किन पापको फल भोग्छौ ?" रत्नाकरलाई दृढ विश्वास थियो उसका परिवारले पाप, पुण्य, सुकर्म र कुकर्म सबैमा साथ दिनेछन् । यही आत्मविश्वासले उसले नारदजीलाई भन्यो, "तिमीले मेरा निमित्त धेरै सोच्नुपर्दैन । मेरा परिवारका सम्पूर्ण सदस्यहरू पापकर्ममा पनि सहभागी छन्, तसर्थ मैले मात्र पापको फल भोग्नुपर्दैन ।"

नारदजीको उद्देश्य त रत्नाकरलाई सुधार्नु थियो । उसलाई सही ज्ञान दिई नराम्रो काम गर्ने प्रवृत्तिबाट विमुक्त गराउनु थियो । त्यसैले उनले भने, "होला, तिमीले भनेको ठीकै होला, तर यो कुराको परीक्षा नगरी कसरी विश्वास गर्ने, बरु मलाई यहाँ रूखमा बाँधेर जाऊ । मेरो पापकर्मको परिणाममा साथ दिन्छौ कि दिँदैनौ भनी तिम्रा आफन्तहरूलाई सोध र जवाफ लिई आऊ ।" रत्नाकरलाई यस कुरामा चित्त बुझ्यो। उसले नारदजीलाई एउटा ठूलो रूखको फेदमा बाँधिदियो र आफू घरतिर लाग्यो ।

घर पुगेपछि रत्नाकरले घरका जहानपरिवार सबैसँग ऋषिले भनेबमोजिमका प्रश्नहरू सोध्यो । सबैले एउटै जवाफ दिए, "तपाईं घरको मुली हुनुहुन्छ । तपाईंले कमाएर ल्याएको सम्पत्ति पाप गरेर ल्याएको होस् वा पुण्य गरेर ल्याएको होस्, हामीलाई त्यसमा कुनै सरोकार छैन । तपाईंको कर्तव्य हो, जसरी भए पनि हाम्रो भरणपोषण गर्नु, तसर्थ हामी तपाईंको पापपुण्य कर्ममा सहभागी हुने छैनौं। तपाईंले गरेको पापको फल तपाईंले मात्रै भोग्नुपर्छ ।"

यस्तो जवाफ सुनेपछि रत्नाकरको हृदय उथलपुथल भयो । आफूले गर्ने गरेको कुकार्यप्रति उसलाई घृणा जाग्यो । जसका लागि पाप गरें, उनीहरूबाटै साथ नमिल्ने भएपछि बरु आफ्नै लागि सुकार्य गरी पुण्य किन नकमाउने भन्ने भावना उसमा आयो । उसको निष्ठुरता कोमलतामा परिणत भयो ।

सबै घरपरिवारलाई त्यागी रत्नाकर नारदजी भएका ठाउँमा आइपुग्यो । नारदजीका अगाडि आई पश्चात्ताप गर्दै माफी माग्न थाल्यो, "मैले हजुरलाई गरेको दुर्व्यवहारप्रति म सार्है लज्जित छु, मलाई क्षमा गर्नुहोस् । मेरा घरका परिवार पापको फल भोग्न तयार छैनन् । अब मलाई यो पापकर्मवाट मुक्त हुने बाटो देखाइदिनुहोस्, मेरो जीवन सफल पारिदिनुहोस् ।" नारदजीले भने, "तिमीलाई म एउटा मन्त्र दिन्छु, त्यसलाई अनवरत रूपले जप, त्यसैबाट तिम्रो उद्धार हुनेछ ।" उनले रत्नाकरलाई मन्त्रका रूपमा जप्न भनी अर्थ नलाग्ने 'मरा' भन्ने शब्द दिए ।

रत्नाकरलाई मन्त्र दिएर नारदजी त्यहांवाट बिदा भए। रत्नाकर पनि एकचित्त भई मन्त्र जप्न थाल्यो । तपस्यामा कति लीन भयो भने उसको शरीरलाई धमिराले पूरै छोपिदिँदा पनि उसले पत्तो पाएन ।

एकदिन नारदजी त्यही बाटो जाँदै थिए। उनले माटामा धमिराले बनाएको ढिस्को देखे । त्यस माटाको ढिस्कोवाट कसैले 'राम राम...' भनेको मन्त्रको ध्वनि आइरहेको थियो । एकछिन त नारदजी आफैं छक्क परे । अनि रत्नाकर हुनुपर्छ भन्ने कुरा उनले सम्झे । उनले रत्नाकरलाई दिएको 'मरा' शब्द जप्ताजप्तै 'राम' भएको हो भन्ने पनि उनले बुझै । उनी उत्सुक बनेर धमिराको गोलो नजिकै गए र बोलाए, "रत्नाकर, तिमी बाहिर आऊ, म नारद हुँ। रत्नाकर पनि धमिराको गोलाबाट बाहिर निस्कियो । रत्नाकरको शरीर तेजले धपक्क बलेको थियो, अनुहार शान्त र गम्भीर थियो ।

नारदजीले खुसी हुँदै भने, "रत्नाकर । तिमी ब्राह्मणपुत्र हौ । तिम्रो नाम वाल्मीकि भयो । वाल्मीकिको अर्थ धमिराले बनाएको गोलो भन्ने हुन्छ । आजदेखि तिम्रो नयाँ जीवन सुरु भयो । अब तिमी एउटा आश्रम बनाऊ र ऋपिजीवन बिताई बस ।" देवर्षि नारदजीकै सल्लाहअनुसार वाल्मीकि तमसा नदीका किनारमा आश्रम बनाएर त्यहीं वसे ।

त्यस्तै क्रौञ्च पक्षीको हत्यावाट द्रवीभूत भएको हृदयमा ब्रह्माजीको उपदेशले रत्नाकरलाई रामायण रच्ने प्रेरणा मिलेको हो भन्ने कथा पनि त्यत्तिकै प्रचलित छ । उनले भगवान रामको गाथा रामायणमा वर्णन गरेका छन् । रामायण जस्तो पवित्र एवम् उत्कृष्ट रचना गर्न सक्ने वाल्मीकि हाम्रा लागि सधैं अविस्मरणीय छन् ।

यो पढेर के शिक्षा पाउनुभयो? Comments गर्नुहोला। 
✅️अझै यस्ता लेख हेर्न - पढ्न चाहनुहुन्छ भने, मलाई फलो गर्नुहोस् ! "तपाईंको एउटा फलोले मलाई धेरै ठूलो हौसला मिल्छ, कृपया फलो गर्न नबिर्सनुहोस्।

Post a Comment

0Comments

Feel free to leave your comment below or get in touch with me on WhatsApp/Viber number: +9779844128670

Post a Comment (0)

#buttons=(Ok, Go it!) #days=(20)

Our website uses cookies to enhance your experience. Learn more
Ok, Go it!